धनगढी । सुदूरपश्चिम प्रदेशमा पाठेघर मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप कार्यक्रम सुरु भएको छ। प्रदेशभरी ३० हजार ७८६ जना बालिकालाई उक्त खोप लगाइने भएको छ।
स्वास्थ्य निर्देशानलय दिपायलका जनस्वास्थ्य निर्देशक मिनराज जोशीले कैलालीमा १० हजार ३४३, कञ्चनपुरमा पाँचहजार ५५३, डोटीमा दुई हजार ५८३, बाजुरामा एक हजार ८०६, बझाङमा दुई हजार ४९६, अछाममा दुईहजार ५७८, डडेल्धुरामा एकहजार ५१६, दार्चुलामा एक हजार ४५८ र बैतडीमा दुईहजार ४५३ जना बालिकालाई खोप लगाइने जानकारी दिए।
विद्यालयमा गएर लगाइने खोप कार्यक्रम माघ २७ गते देखि फागुन २ गतेसम्म रहेपनि फागुन १५ गतेसम्म छुटेका बालिकाले नजिकको स्वास्थ्य संस्थामा गएर लगाउन सकिने उनले जानकारी दिए। एचपिभीका विभिन्न प्रकारमध्ये १६ र १८ ले पाठेघरको मुखको क्यान्सर गराउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले स्थानीय तहसँगको समन्वयमा यो खोप सेवा प्रदान गरेको हो।