श्रीमती जिस्काएको निहुँमा प्रहरी हबल्दारको हत्या, ३ जना पक्राउ

धनगढी । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या गरिएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार भएका छन् ।

घर्तीको हत्यामा संलग्न रहेको आशंकामा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमबहादुर विष्टले जानकारी दिए । उनकाअनुसार घटनामा संलग्न तथा सहयोगीको भूमिका खेलेका अन्य चार जना भने फरार भएका छन् । फरार हुनेमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठो श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गर्ने राजेन्द्र डडाल रहेका छन् ।

पक्राउ परेकी दिपिका पाल भने आशिक पालकी कान्छी श्रीमती भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा अस्मिता बियर बारमा कान्छी श्रीमती दिपिकालाई जिस्काएको भन्दै उनका श्रीमान आशिकले प्रहरी हवल्दार घर्तीमाथि कुटपिट गरेका थिए ।

पक्राउ परेकाहरुले आशिक र उनका भाइले कुटपिट गरेर हत्या गरेको बयान प्रहरीलाई दिएपनि त्यसको सत्यापन परीक्षणको काम भइरहेको जनाएको छ । एसएसपी विष्टकाअनुसार घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ ।

घटनापछि फरार रहेकाहरुको खोजी कार्य भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.