धनगढी। नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमको संसदीय दल समायोजन भएसँगै प्रदेश सभामा दलहरूको हैसियत फेरिएको छ । माओवादी केन्द्र, एकिकृत समाजवादी र नागरिक जनमुक्ति पार्टो समाहित भएर बनेकाे नेकपामा एक जना निलम्बित सहित २२ सदस्यीय बनेकाे हाे ।
यहाँ यसअघिकाे सबैभन्दा ठुलो दल रहेको कांग्रेसको हैसियत दोस्रो ठूलो दलमा पुगेको छ । प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ तथा राप्रपाका एक सांसद छन् । यसैगरी आइतबार बसेकाे साे पार्टीकाे संसदीय दलकाे नेतामा खगराज भट्ट चयन भएका छन् । पार्टी केन्द्रको सर्कुलरअनुसार भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको र संसदीय दलका अरू पदाधिकारी निर्वाचनपछि चयन गरिने नेकपाका सांसद शिवसिंह ओलीले जानकारी दिए ।
संसदीय दलको बैठकले दलको विधान मस्यौदा तयार पार्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा प्रदेश सांसद रमेशसिंह धामी, ओमविक्रम भाट सरल, खुसीराम डगौरा थारू, माया पन्त र इन्दिरा गिरी छन् । बैठकले प्रदेश सरकार पूर्णतः असफल भएको ठहरसमेत गरेको छ ।