कञ्चनपुरमा छोरी जन्माउने आमा-बुवालाई ३ हजार भत्ता

कञ्चनपुर । बेल्डाँडी गाउँपालिकाले छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप रु ३ हजार भत्ताको व्यवस्था गरेको छ । गाउँपालिकाले लैङ्गिक विभेद हटाउने उद्देश्यले छोरी जन्माउने आमाबुवालाई रु ३ हजारका दरले प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो ।

गाउँपालिका उपाध्यक्ष शान्ती नाथले पछिल्लो समय लिङ्ग पहिचान गरी गर्भपतन गर्ने प्रवृत्ति बढेकाले त्यसलाई रोक्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताए । “आर्थिक वर्ष २०७९/८० बाट ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमअन्तर्गत छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएकोे हो”, उपाध्यक्ष नाथले भने, “हालसम्म ३५३ आमाले छोरी जन्माएवापत प्रोत्साहन भत्ता पाएका छन् ।” 

उनका अनुसार चालु आर्थिक वर्षमा ४० आमालाई छोरी जन्माएवाफत प्रतिव्यक्ति ३ हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको छ । प्रोत्साहन भत्ता लिन आउँदा विवाह दर्ता र बालिकाको जन्मदर्ता ल्याउनुपर्ने भएकाले यसले बालविवाहलाई रोक्ने अपेक्षा गरिएको छ । त्यसअघि पालिकाले सुत्केरी आमालाई पोषण भत्ता स्वरुप रु ५०० दिँदै आएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.