डडेल्धुरा । जिल्ला निर्वाचन कार्यालय डोटीको गाडी शनिबार राति दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। डडेल्धुराबाट दिपायलतर्फ जाँदै गरेको गाडी डडेल्धुराको अमरगढी नगरपालिका ११, रडुवा खोलास्थित नजिक दुर्घटना भएको हो।
दुर्घटनामा डडेल्धुराको अजयमेरु गाउँपालिका–६ घर भइ डोटीका निर्वाचन अधिकृत ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भइ सशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँको भानु नगरपालिका घर भइ नेपाली सेनाको भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सूर्यबहादुर कोइराला, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा र डोटीको दिपायल सिलगढी नगरपालिका–५ का ४५ वर्षीय तेजबहादुर अधिकारी घाइते भएका छन्।
अधिकारी गाडी चालक हुन्। घाईते पाँचै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।