सरस्वती पूजामा जातीय विभेद गर्ने अध्यक्षमाथि कारबाहीकाे माग

महेन्द्रनगर । शिक्षक महासंघ कृष्णपुर नगर समितिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले शिक्षक गजराम सार्कीमाथि गरेको जातीय विभेद र अपमानजनक व्यवहारको आपत्ति जनाएको छ । महासंघका अध्यक्ष पुरन सिंह बोगटी, सह अध्यक्ष दीपक भट्ट र सचिव गणेशराम सार्कीले विज्ञप्ति जारी गरी अध्यक्ष भण्डारीलाई पदबाट हटाएर कानुनी कारबाही गर्न माग गरेका छन्।

महासंघले शिक्षक सार्कीमाथि सार्वजनिक कार्यक्रममा भएको विभेद घट्नाको निष्पक्ष र पारदर्शी छानबिनको पनि माग गरेको छ । शिक्षक महासंघ कृष्णपुरले सार्कीमाथि गरिएको घट्नाले उनको व्यक्तिगत सम्मानमा मात्रै नभएर शिक्षक जगतको आत्मसम्मानमा गम्भीर आघात पुगेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

महासंघले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय ऐन २०६८) ले सार्वजनिक स्थानमा जातीय आधारमा गरिने कार्यलाई दण्डनीय अपराध मानेकाले अध्यक्षले पदीय मर्यादा मिचेर आपराधिक कार्य दुःखद भएको भन्दै भर्त्सना गरेको छ । सरस्वती पूजामाका दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर कुमार भण्डारीले शिक्षक सार्कीलाई टिका नलगाई पातमा राखेर उनको हातमा दिएर विभेद गरेका थिए ।

शुक्रवार विद्यालयमा गरिएको सरस्वती पूजामा शिक्षक सार्की सहभागी भएका थिए । व्यवस्थापन समिति अध्यक्ष भण्डारीले सार्की बाहेक अन्यलाई भने टिका लगाएका थिए । सार्कीले अध्यक्ष भण्डारीले आफूमाथि जातीय विभेद र सार्वजनिक कार्यक्रममा अपमानजनक व्यवहार गरेको भन्दै न्यायका लागि शिक्षक महासंघ गुहारेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.