लागुऔषध दुर्व्यसन नियन्त्रणमा सबै पक्षकाे समन्वय अपरिहार्य

कञ्चनपुर । युवामाझ बढ्दो लागुऔषध दुर्व्यसन प्रदेशका लागि गम्भीर चुनौती बन्दै गएको भन्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, शैक्षिक संस्था, अभिभावक र समुदायबीच समन्वय अपरिहार्य रहेको सरोकारवालाले बताएका छन् । प्रदेश युवा परिषद्को आयोजना तथा जेबी एकेडेमी वाणी, कञ्चनपुरको सहकार्यमा सम्पन्न लागुऔषध विरुद्धको प्रदेशस्तरीय अभियान तथा अभिमुखीकरण कार्यक्रमका वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र सावदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्रालयकी राज्यमन्त्री सरस्वती खड्काले लागुऔषध दुर्व्यसनलाई व्यक्तिगत कमजोरीका रूपमा मात्र नभई सामाजिक समस्याका रूपमा बुझ्नुपर्ने बताउँदै राज्यले यसविरुद्ध दीर्घकालीन नीति र अभियान अघि बढाइरहेको उल्लेख गरिन् । ‘लागुऔषध दुर्व्यसनले युवाको भविष्य मात्र होइन, समग्र समाज र राष्ट्रलाई नै कमजोर बनाउँछ,’ राज्यमन्त्री खड्काले भनिन्, ‘यसको अन्त्यका लागि सरकारको प्रयाससँगै परिवार, विद्यालय र समुदायको सक्रिय भूमिका अत्यावश्यक छ ।’

कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले लागुऔषधको कारोबार र दुर्व्यसन नियन्त्रणमा सुरक्षा निकाय एक्लैले मात्र सफलता हासिल गर्न नसक्ने स्पष्ट पारे । ‘लागुऔषधको जालो विद्यालय र समाजसम्म फैलँदै गएको छ,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्न प्रहरी, अभिभावक, शिक्षक र स्थानीय तहबीचको सहकार्य अनिवार्य छ ।’

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले लागुऔषध सम्बन्धी कानुनी व्यवस्था, दण्ड–सजाय तथा पुनःस्थापनाका उपायबारे प्रशिक्षण दिए । उनले चेतनाको अभावका कारण धेरै युवा कुलतमा फस्ने गरेको उल्लेख गर्दै समयमै सही सूचना र अभिमुखीकरण आवश्यक रहेको धारणा राखेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.