काठमाडौं । विघटिन संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस आन्तरिक किचलोका कारण फूटको संघारमा पुगेको छ ? हामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त वक्तव्य निकाल्दै नियमित महाधिवेशन स्थगित भएको र विशेष महाधिवेशनको विकल्प खुलेको घोषणा गरेसँगै काँग्रेसको आन्तरिक कलह चर्किने संकेत देखिएको हो ।
अहिले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा चुनाव अघि नै काँग्रेस महाधिवेशनको पक्षमा छन् । तर संस्थापन पक्ष भने महाधिवेशन चुनावपछि मात्रै गर्ने अडानमा छ । यस्तो बेलामा पार्टीको विशेष महाधिवेशन बोलाउनुले पार्टी फुट्ने जोखिम देखिएको हो ।
महामन्त्री थापा र शर्माले विशेष महाधिवेशन आह्वानका लागि विज्ञप्ति जारी गर्ने पूर्वसूचना पाएपछि सभापति शेरबहादुर देउवा संस्थापन पक्षसँग निरन्तर संवादमा छन् । बिहीबार साँझ आफ्नै निवास महाराजगञ्जमा देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई बोलाएर महामन्त्रीद्वयको कदमबारे छलफल गरेका थिए ।
छलफलका क्रममा सभापति देउवाले विशेष महाधिवेशन बोलाए पार्टी फुट्ने भन्दै यसलाई रोक्न जोड दिएका थिए । तर महामन्त्रीद्वय थापा र शर्मा भने अब नियमित महाधिवेशनको सम्भावना नरहेको भन्दै विशेष महाधिवेशन गरेरै छाड्ने पक्षमा छन् । जसले पार्टी फूटको संघारमा पुगेको देखिएको छ ।