धनगढी । कैलालीको गेटा अस्पतालमा दूरबीन पद्धतिबाट शल्यक्रिया सेवा सुरु भएको छ। अस्पतालका निर्देशक तथा ल्याप्रोष्कोपी सर्जन डाक्टर प्रमोद कुमार यादवले बुधबार पहिलो शल्यक्रिया गरिएको बताए।
डाक्टर यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बुधबार डडेलधुराको अमरगढी नगरपालिका-९ ढाँटगाउँकी ४५ वर्षीया कमला दमाईको पित्तथैलीको शल्यक्रिया गरेको हो।
ल्याप्रोष्कोपी सर्जन डाक्टर प्रमोद कुमार यादव, सर्जन डाक्टर विजय भट्ट, एनेस्थेसियोलोजिष्ट डाक्टर रोजी जोशी र नर्सद्वय रेबिका विष्ट र आरती भण्डारी सहितको स्वास्थ्यकर्मीको टोलीले कमलाको दूरबीन पद्धतिबाट शल्यक्रिया गरेको हो। अस्पतालका निर्देशक तथा ल्याप्रोष्कोपी सर्जन डाक्टर प्रमोद कुमार यादवले गेटा अस्पतालमा पहिलो पटक दूरबीन पद्धतिबाट शल्यक्रिया गरिएको बताए। उनले अस्पतालको सेवा विस्तार भईरहेको बताए। गेटा अस्पतालमा पछिल्लो समय बिरामी भर्ना पनि हुन थालेका छन्।
बिरामी कमलाका श्रीमान रामचन्द्र दमाईले गेटामा पहिलो पटक आफ्नो श्रीमतीको शल्यक्रिया भएकोमा खुशी व्यक्त गरे। ‘अब गेटामा ठूलो अस्पताल बनोस्, सबैले सस्तोमा उपचार पाउन’ उनले भने। निजी अस्पतालमा यस्तो शल्यक्रियाको औषधि र भर्ना शुल्कसहित कम्तीमा पनि एक लाखको उपचार खर्च आउने गर्छ। तर गेटामा भने यस्तो शल्यक्रियाको औषधि, बेड शुल्कसहित ३५/४० हजारभित्रै उपचार हुने अस्पताल प्रशासनले जनाएको छ।