आजदेखि अत्तरियामा सांस्कृतिक महोत्सव सुरु हुँदै

धनगढी । कैलालीको अत्तरियामा आजदेखि महोत्सव आयोजना हुने भएको छ। २०६७ सालदेखि अत्तरियामा आयोजना हुँदै आएको महोत्सव गत वर्ष रोकिएको भए पनि यस वर्ष आयोजकले नयाँ व्यवस्थापनका साथ ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ आयोजना गर्न लागेको हाे।

गत वर्ष उद्योग वाणिज्य संघमा भएको आन्तरिक विवादका कारण महोत्सव हुन सकेको थिएन। यस वर्ष पनि महोत्सव आयोजना हुने अवस्था नभएपछि न्यु सृजनशील युवा क्लबले महोत्सव आयोजना गर्न लागेको हो। यस पटकको महोत्सवको स्थान पनि परिवर्तन भएको छ। यसअघि अत्तरियामा रहेको लामिताल क्षेत्रमा महोत्सव आयोजना हुने गरेकोमा यस वर्ष लामितालको दक्षिण पट्टि रहेको सुरक्षा सामुदायिक वनको खुला चौरमा महोत्सवको मञ्च तयार पारिएको छ। महोत्सवको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

महोत्सव उद्घाटन अघि बिहान १० बजेदेखि अत्तरिया बजारमा ¥याली सहित परिक्रमा गरिने मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक यु सृजनशील युवा क्लबका अध्यक्ष नर बहादुर राईले बताए। उनले महोत्सवमा १८० स्टल रहने र सबै बुक भइसकेको बताए। महोत्सव डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको र एक करोड कारोबार हुने विश्वास लिइएको छ।

महोत्सवमा कृषि र घरेलु उत्पादनका कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको अध्यक्ष राईले बताए। उनले महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागिता रहने बताए। महोत्सवमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई निःशुल्क, विद्यार्थीलाई ५० रुपैयाँ र सामान्य टिकट १ सय रुपैयाँ तोकिएको छ। महोत्सवको सुरक्षाको लागि क्लबका युवाहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी सँग समन्वयन गरिएको अध्यक्ष राईले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.