नेपाली कम्युनिस्ट पार्टीले दियाे जेनजी र महिलालाई प्राथमिकता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुस ११ गतेभित्र प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेर पठाउन प्रदेश र जिल्लामा परिपत्र पठाएको छ । नेकपाले शनिबार पठाएको परिपत्रमा एकतामा जोडिएका घटकहरूको सहमतिमा जेनजी र महिलालाई प्राथमिकतामा राखेर उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिइएको छ।

नेकपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना जेनजी युवा र एक महिलासहित बढीमा ५ जना सिफारिस गर्ने भनिएको छ । सिफारिस भएको उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए/नभएको खुलाउने, सिफारिस गर्दा लोकप्रिय र जित्ने उम्मेदवारलाई प्राथमिकतामा राख्न परिपत्रमा भनिएको छ ।

यसैगरी समानुपातिकतर्फ एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तीमा २ महिलासहित ४ जना सिफारिस गर्ने, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप २ जना सिफारिस गर्ने र सम्पर्क समन्वय प्रदेशले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने भनिएको छ ।

उपत्यका विशेष र प्रवास प्रदेशले २ महिला र २ पुरुष गरी ४ जना सिफारिस गर्ने, जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिले २ महिला र २ पुरुष गरी ४ जना सिफारिस गर्ने, संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम, अपांगता, पिछडिएको क्षेत्र, अल्पसंख्यक आदि क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्न भनिएको छ । सहिद परिवार, बेपत्ता परिवार, द्वन्द्व–पीडित, घाइते, अपांगता भएका तथा आर्थिक रूपले विपन्न वर्गलाई प्राथमिकतामा राख्न र एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्न भनिएको छ ।

यसैगरी राष्ट्रिय सभातर्फ उम्मेदवारको सिफारिस प्रदेश र प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्षको सिफारिस जिल्ला तहबाट गर्न निर्देशन दिइएको छ । राष्ट्रिय सभाका लागि प्रदेशले यस पटक निर्वाचन हुने प्रत्येक क्लष्टरबाट बढीमा ५–५ जना सिफारिस गर्ने भनिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.