धनगढी । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवाको मुख्य केन्द्र बन्दै गएको धनगढीमा सञ्चालित निजी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्। चिकित्सक बाहेकका स्वास्थ्यकर्मीहरूलाई न्यून पारिश्रमिक दिने र श्रम शोषण बढ्दै गएको भन्दै उनीहरूले सामूहिक आन्दोलन थालेका हुन्।
धनगढी, अत्तरिया तथा आसपासका अधिकांश निजी अस्पतालमा कार्यरत स्टाफ नर्स, अनमी, ल्याब सहायक लगायतका स्वास्थ्यकर्मीहरूले सरकारी मापदण्डअनुसारको पारिश्रमिक नपाएको गुनासो गर्दै प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् भने माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत मंसिर २७ गते सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम सरकारी मापदण्डअनुसारको पारिश्रमिक दिनुपर्ने निर्देशन जारी गरेको थियो। उक्त निर्देशनमा करार सम्झौतामार्फत मात्र स्वास्थ्यकर्मी राख्न पाइने, ज्यालादारी प्रणाली अन्त्य गर्नुपर्ने, सक्कल शैक्षिक प्रमाणपत्र कार्यालयले राख्न नपाइने, तोकिएको समयभन्दा बढी काम गराएमा अतिरिक्त भत्ता दिनुपर्ने र पारिश्रमिक बैंकिङ प्रणालीमार्फत मात्र उपलब्ध गराउनुपर्ने उल्लेख छ।
निर्देशनअनुसार नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने व्यवस्था भएपनि, धनगढी र अत्तरियाका महँगा निजी अस्पतालहरूले भने १२ देखि १८ हजार रुपैयाँ मात्र तिरेका छन्। स्टाफ नर्स आस्मा नेगीका अनुसार, “हामीले सरकारी मापदण्डअनुसारको पारिश्रमिक पाउनुपर्ने माग गरेका हौं, तर अस्पतालहरूले त्यस्तो सुविधा दिन तयार छैनन्।”