काठमाडौं । जेनजी आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शासन सत्ताको बागडोर सम्हाल्न आउने भएकी छन् । योसँगै नेपालले राजनीतिक इतिहासमा पहिलो पटक महिला सरकार प्रमुख पाउने करिब निश्चित भएको छ । हिजाे मध्यरातिसम्म राष्ट्रपति कार्यालय, शितलनिवासमा बसेको वार्तामा जेनजी प्रस्तवमा सुशीला कार्की सरकार प्रमुख बनाउन दलहरु सहमत भएका हुन् ।
जेनजीतर्फबाट संसद् विघटनविना कुनै प्रक्रिया अघि बढ्न नसक्ने अडान रह्यो भने पुराना दल र राष्ट्रपति पौडेलले संसद्बाटै निकास निकाल्ने कुरामा जोड दिए । तर, संसद् विघटन गरेर कार्कीलाई सरकार प्रमुख बनाउने कि नगरी भन्ने विषयमा मत मिल्न नसकेपछि शुक्रबार बिहान फेरि छलफलमा बस्ने गरी वार्ता टुंग्एिको राष्ट्रपति कार्यालय स्रोतले बताएकाे छ।
नेपाली सेनाको जंगीअड्डामा बुधबार भएको छलफलपछि जेनजी प्रतिनिधिले अन्तरिम सरकार प्रमुखका रुपमा कार्कीको नाम प्रस्ताव गरेका थिए । प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधिको सन्देश राष्ट्रपति पौडेलसम्म पुर्याएका थिए । त्यसपछि बिहीबार अबेरबाट राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि राजनीतिक सहमति जुटाउन दलका नेताहरुसँग परामर्श थालेका थिए ।
त्यसक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीका नेताहरुले जेनजी आन्दोलनको म्यान्डेट अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सरकार प्रमुख बनाउन सहमति जनाए ।