बैतडी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन्।
ब्रतालु महिलाहरूले बिहानै नुवाईधुवाई गरेर साँझो समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए। आज अमुक्ताभरण सप्तमी भएकाले ब्रतालु महिलाहरू एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको उनले बताए।
‘ठूली गौरा’ को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरूले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन्। ब्रतालु महिलाहरूले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ। साउ, अपामार्ग, तीललगायत वनस्पतिले गौराको प्रतिमूर्ती बनाइ पूजाआजा गर्ने चलन छ ।
गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म ल्याउने र भित्र्याउने गर्छन्। अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिन्छ। गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, मांगल गानका साथमा नचाइन्छ। त्यसै क्रममा गौरालाई गौरा घरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ।
यसै दिनदेखि ठाउँ–ठाउँमा देउडा समेत खेलिने प्रचलन रहिआएको छ। सप्तमीमा भित्र्याइएको गौरा प्रतीकलाई कम्तीमा पनि पाँच रातसम्म राख्ने गरिन्छ। पाँच रातसम्म गौरा घरमा देउडा, फाग, चैत, धमारी खेल्ने गरिन्छ । गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी,चैत खेल्ने चलन रही आएको छ। सुदूरपश्चिममा दशैँभन्दा पनि बढी महत्त्व दिइने गौरा पर्वका लागि परदेशीएकाहरू पनि घर फर्किने गर्दछन्।