छाउ बार्न बसेकामाथि ढुङ्गा बजारिदां दुईको मृत्यु, एक घाइते

अछाम । अछाममा छाउपडी (महिनावारी) बार्न त्रिपालभित्र बसेकी एक महिला र एक बालिकाको ढुंगाले लागेर मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका-८ बरालामा सेरापानीस्थित चुरेखोली टोलमा महिनावारी बार्न बारीमा त्रिपाल टाँगिरहेको अवस्थामा ढुंगा खस्दा २८ वर्षीया निम खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको ज्यान गएको हाे ।

मृतक बालिकाकी आमा ३६ वर्षीया रत्नकला भण्डारीको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि सुर्खेत पठाइएको अछाम प्रहरी प्रमुख डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । ‘प्रहरीको टोली घटनास्थल पुगिसकेको छ । दुई जना महिला महिनावारी भएको र छोरीलाई पनि साथमा लगेर बारीमा त्रिपाल टाँगेर बसेका रहेछन् ।’

गए राति स्थानीय चुरकुली भन्ने स्थानमा महिनावारी भएको भन्दै घरको आँगनमा त्रिपालमुनि सुतेका तीन जनालाई माथिबाट आएको ढुंगा लागेको प्रहरीको भनाइ छ । पछिल्लाे समय अछाममा स्थानीय प्रहरी प्रशासनले छाउगोठ भत्काइएपछि महिनावारी हुँदा महिलाहरू त्रिपालमुनि वा ओडारमा बस्न थालेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.