ओल्के पर्व मनाइँदै, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

डडेल्धुरा । भदौ १ गते आज डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासकासाथ ओल्के पर्व मनाइँदैछ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप उपहास (ओल्काे) दिएर र छाेरी बहिनीसँग मीठो–मसिनो खाएर मनाउने याे पर्व यहाँकाे परम्परागत हाे ।

ओल्काेमा कर्कलाको भित्री पात, फलफूल आदि दिनु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ । यसका साथै बिहानै धुहाइधुवाई गरी विभिन्न परिकार बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि गरिन्छ ।

वर्षायाममा सङ्कटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा यस क्षेत्रमा ओल्के मनाउने प्रचलन रहेको संस्कृतिका जानकार जयानन्द भट्टले बताए । यो दिन ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान आदि मान्यजन र आफन्तकहाँ लिएर भेटघाट गर्न जाने चलन छ । धेरैजसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् । यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक तथा जेठो पर्वका रूपमा पनि रहिआएको छभने सिंह सङ्क्रान्ति पनि भन्ने गरिएको छ ।

“ठूलालाई सम्मान र सानालाई माया गर्नु हाम्रा पर्वहरूका मुख्य विशेषता हो, ओल्कोलाई शाब्दिक अर्थले उपहार लिनु दिनुमा मात्र नभई संस्कृति, परम्परा र आस्थाका रूपमा पनि चिनिन्छ ।” पण्डित दयाकृष्ण पन्तले बताए ।

यसैबीच, ओल्के पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.