धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारको एक वर्ष पुगेको छ। गतवर्ष तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बहुमत जुटाउन नसक्दा पदबाट राजीनामा दिएपछि साउन २० गते शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए।
आज पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री शाहले सरकारको एक वर्ष कार्यकालको उपलब्धिहरू सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकारको एक वर्षे कार्यकालमा महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको दावी गरे । एक वर्षे प्रगति प्रतिवेदन सुनाउँदै उनले आफू नेतृत्वको सरकारले साक्षर प्रदेश घोषणा गरेको बताए । उनले यस वर्ष कानुन निर्माण तर्फ १८ वटा ऐन नियम, निर्देशिका तथा कार्यविधिहरू जारी गरिएको बताए । त्यसका साथै प्रदेश सरकारको खर्च गर्ने क्षमतामा पनि वृद्धि भएको बताए ।
‘अनेक चुनौती र कठिनाइको सामना गर्दै आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशको खर्च गर्ने क्षमतामा वृद्धि गर्दै ७०.२२ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सक्षम भएका छौँ’ उनले भने ‘जुन यस प्रदेश सरकारको अहिले सम्मको उच्च उपलब्धि हो ।’ उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको विभिन्न ११ वटा सूचकको आधारमा कार्यसम्पादन मूल्याङ्कनबाट सबै प्रदेशहरू मध्ये ५१.६ प्रतिशत अंक हासिल गरी सुदूरपश्चिम प्रथम बनेको समेत बताए ।
गत वर्ष प्रदेश सरकारले विभिन्न किसिमका करिब ३५५ किलोमिटर सडकहरू निर्माण गरेको, जसमध्ये १०६ किमी कालोपत्रे, १०३ किमी ग्राभेल र १४६ किमी कच्ची सडक गरी ३५५ किमी सडक मर्मत गरेको बताए । १ लाख बढी जनसङ्ख्यालाई खानेपानीको सुविधा पुर्याएकाे उनकाे दावी थियाे ।