चार दिनदेखि सम्पर्क विहीन २८ वर्षीय युवा मृत फेला

धनगढी। चार दिनदेखि सम्पर्क बिहिन रहेका कैलालीको गौरीगङ्गा नगरपालिका–६, बनबेहडा, विजयनगर टोलका २८ वर्षीय टेकबहादुर रोकाया मृत अवस्थामा फेला परेका छन् ।

उनी गत शनिबार साउन १० गते देखि नै सम्पर्कविहीन रहेकाेमा मङ्गलबार दिउँसो चुरे गाउँपालिका–४, सिताखाली शिविरमाथिको खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

रोकाया बाँसका तामा खोज्न जाने क्रममा हराएका थिए । हराएपछि परिवारले खोजी गरिदिन आग्रह गरेपछि प्रहरीले खोजी सुरु गरेको थियो । अन्य साथीहरूसँगै घरबाट निस्किएका रोकायालाई बाख्रा चराउने क्रममा स्थानीय रमेश राजीले सिताखाली खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय चौमालाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र बलायरका अनुसार शव खोलामा घोप्टो परेको अवस्थामा, सडिसकेको अवस्थामा फेला परेको थियो । वर्षा र पहिरोको जोखिम भएको समयमा हराएका कारण खोलामा आएको बाढीले बगाएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

मृत्यु प्राकृतिक कारण वा अन्य कारणले भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा पठाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.