काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले सार्वजनिक आब्हान गर्दै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई केन्द्रीय समितिको बैठकमा आएर आफूमाथि लागेका आरोपबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।
कास्कीको लिचीबारी जग्गा हत्याउन खोज्ने बिचौलिया समूहसँग जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाइरहेकी पत्नी रञ्जितालाई रेशमले बैठकमा सहभागी भएर जवाफ दिन भनेका हुन् । एक भिडियो सन्देश जारी गर्दै रेशमले पत्नी रञ्जितालाई भनेका छन्, ‘तपाईं भाग्न पाउनु हुँदैन, तपाईंमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्छ ।’
संरक्षक चौधरीले पार्टीभित्र हाल उत्पन्न परिस्थितिको मुख्य जिम्मेवार अध्यक्ष श्रेष्ठ नै भएको सङ्केत गर्दै यसको निकास पनि उनैले दिनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘अहिले उत्पन्न परिस्थिति तपाईंको कारणले सिर्जना भए पनि हामीले तपाईंसँग सम्पर्क राख्ने प्रयास त गरेकै छौँ नि । जनता अन्योलमा छन् ।’