
धनगढी । साउन महिना सुरु भएसँगै सुदूरपश्चिमका कैलाली कञ्चनपुरका रानाथारू र कठरिया थारू समुदायमा ‘सावनको डोला’ (सावनियाँ डोला)को रौनक सुरु भएको छ। यी समुदायको बसोबास गाउँमा पूजाआजासहित विधिपूर्वक डोला राखेसँगै यसको रौनक सुरु भएको हो।
रानाथारूले सावन (साउन) की डोला र कठरिया थारूले सवनियाँ डोला भन्ने गरे पनि खेल्ने र रमाउने तरिका भने मिल्दोजुल्दो छ। कैलाली, कञ्चनपुरमा बस्ने रानाथारू बस्तीमा श्रावण कृष्णपक्ष प्रतिपदाको दिन सावनकी डोला राखिएका छन्। काठको चार वटा खम्बा गाडेर त्यसको बिचमा काठकै बलियो डन्डी राखी डोला तयार पारिएको छ। डन्डीमा बलियो डोरी बाँध्ने र त्यसमा काठको फ्ल्याक राखेर गाउँका महिला सामूहिक रूपमा डोला (पिङ) खेल्ने चलन यो समुदायमा रहेको छ।
रानाथारू समुदायमा साउन महिनामा परम्परादेखि नै डोला राख्ने र खेलेर रमाउने चलन रहेको नेपाल आदिवासी जनजाति महासङ्घ कञ्चनपुरका सचिव साहेब रानाले जानकारी दिए। उनका अनुसार डोलालाई सजाएर महिलाले लोकभाकामा लोकगीत गाउने र डोलामा झुल्दै (खेल्दै) रमाउने चलन रहेको छ। डोला खेल्ने महिलामा उत्साह थप्नका लागि पुरुषले ठुलो आवाजमा गीत गाएर रमाउने चलन छ।
सावनको डोला खेल्ने र रमाउने क्रम श्रावण शुक्लपक्ष तृतीयासम्म चल्छ। तृतीयाको दिन दिदीबहिनी, दाजुभाइ र भतिजाको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै तिज व्रत बस्ने गरेको पूर्वप्रदेश सभा सदस्य मालामती रानाथारू बताउछिन्। तिजमा महिलाले डोलामा राखिएको डोरी काटेर सेलाएपछि सावनको डोलाको उत्सव समापन हुने गरेको उनको भनाइ छ ।
