एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले लगातार दाेस्राे पटक उपाधि जितेको हो ।
सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले । शिवांश बजगाइले २० रन बनाए । जोयले लगातार तीन चौका पनि प्रहार गर्दै अभय यादवसँग मिलेर साझेदारी बनाए। अभयले विजयी छक्का नै प्रहार गरे ।
नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो । त्यसअघि एसीसीले यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।