धनगढी । सुदूरपश्चिम प्रदेशस्तरीय यु–१९ टी–२० महिला क्रिकेट प्रतियोगिता आज १२ गतेदेखि सुरु हुँदैछ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा हुन लागेको प्रतियोगिता धनगढीको फाप्ला मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा प्रदेशका आठ जिल्लाको टोलीको सहभागीता रहनेछ। जसमा बाजुरा बाहेक ८ जिल्लाका टिमहरूको सहभागिता रहनेछ। प्रदेश खेलकुद परिषदका सदस्य सचीव लोक बहादुर खड्का (रबि) ले प्रतियोगिताको बिजेताले नगद २ लाख सहित ट्रफी तथा मेडल पाउने जानकारी दिए ।
यस्तै उप-बिजेताले नगद १ लाख सहित ट्रफी तथा मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा तृतीय र चौथो स्थान प्राप्त गर्ने टिमले नगद ५० हजार सान्त्वना पुरस्कार पाउने छन् । परिषदका अनुसार प्रतियोगिताको उद्देश्य महिला क्रिकेट खेलप्रति युवतीहरूलाई आकर्षित गर्नु र प्रतिभाशाली खेलाडीहरू पहिचान गर्नु रहेको छ।
प्रतियोगिता असार १९ गतेसम्म सञ्चालन हुने छ। खेलहरू प्रतिदिन बिहान र दिउँसो गरी दुई सत्रमा खेलाइनेछन्।