काठमाण्डाैं । आफूले नै रोजेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागन कार्यालय पठाएका तिर्थराज भट्टराई अख्तियारको अनुसन्धानमा तानिएपछि गृहमन्त्री रमेश लेखकमा अहिले छटिपटि छ। त्यति मात्र होइन्, नेपाली नागरिकलाई भिजिट भिसामा खाडी र युरोप पठाउने अनि मोटो रकम असुल गर्ने यो जालोमा गृहमन्त्रीकै सचिवालयका कर्मचारी पनि अनुसन्धानको घेरामा छन्।
अध्यागमनका केही कर्मचारी त अहिले अख्तियारको नियन्त्रणमा छन्। विपक्षीले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरिरहेको र नागरिकमा पनि आक्रोश बढिरहेका बेला लेखकले पत्रकार सम्मेलन गरेर आफू चोखो रहेको तर्क गरेका छन्। उनले यसरी तर्क गरेपनि अख्तियारको अनुसन्धान गृहमन्त्रीसम्मै पुग्छ कि भन्ने भय अहिले एमाले र कांग्रेस नेताहरुमा छ। किनकी अहिले कांग्रेस र एमाले गठबन्धन सरकार छ।
त्यही भएर सरकारले अख्तियारको अनुसन्धान प्रभावित पार्न खोजेको देखिन्छ।भिजिट भिसा प्रमुख अहिले अख्तियारमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। तर, यही बेला गृहमन्त्री रमेश लेखकले अख्तियारमा प्रहरीबाट कमाण्ड गरिरहेका डिआइजी हिमालयकुमार श्रेष्ठको सरुवा गरिदिए। उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय ल्याएर ओमबहादुर रानालाई अख्तियार पठाउने निर्णय गरेका थिए। यो निर्णय १३ जेठको हो।
तर, यसरी गृह मातहतकै निकायमाथि अनुसन्धान भइरहेको र गृहमन्त्रीमाथि नै प्रश्न उठिरहेका बेला अख्तियारबाट डिआइजी चलाउदा गलत सन्देश जाने भन्दै अख्तियार नेतृत्वले नै असन्तुष्टि जनाएको छ। अहिले अख्तियार प्रमुखमा प्रेमकुमार राई छन्, उनी पूर्वगृहसचिव पनि हुन् ।
यसरी अख्तियारले नै असन्तुष्टी जनाउनु, कांग्रेस, एमालेकै नेताहरुले भित्रभित्र आलोचना गर्नुले पनि लेखक हच्किएका छन्। अझ त्यो भन्दा ठूलो कुरा भिजिट भिसा प्रकरणलाई माओवादी, रास्वपा र राप्रपाले बटमलाइन बनाइरहेका बेला डिआइजी सरुवाले झन घ्यु थप्ने काम भएको थियो। यो विषय संसदमा उठने भएपछि लेखक निर्णयबाट तत्कालका लागि पछि हटेका छन्।