काठमाडौं । जल तथा मौसम विज्ञान विभागले गत वर्षजस्तै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ । विभागले बुधबार ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने जनाएको हो ।
वरिष्ठ मौसमविद् विभूति पोखरेलले स्थान अनुसार सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ र ३५ देखि ४५ प्रतिशतसम्म बढी रहेको बताइन् । प्रिमनसुन सिजनमै सरदरभन्दा बढी वर्षा भएकाले माटोको चिस्यान बढेकाले मनसुनको सुरूवातमा हुने वर्षाले पनि क्षति पुर्याउन सक्ने उनको भनाइ छ ।
कहाँ कति प्रतिशत वर्षाको सम्भावना ?
जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ । यसैगरी सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।
अधिकतम तापक्रम पनि बढी हुने आँकलन
मनसुन अवधिमा अधिकतम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागको आँकलन छ । सुदूरपश्चिम प्रदेशको उत्तर–पूर्वी भूभाग, कर्णाली प्रदेशको उत्तरी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग, गण्डकी प्रदेशको पश्चिमी भूभाग, मधेश प्रदेशको भूभाग र बागमती प्रदेशको मध्य भूभागमा सरदरभन्दा बढी अधिकतम तापक्रम रहने संभावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशको दक्षिण–पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भूभाग र कोशी प्रदेशको उत्तरी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत छ । देशका बाँकी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागको आँकलन छ ।