धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मित्रराष्ट्र भारतको आफ्नो भ्रमण उपलब्धिपूर्ण भएको बताएका छन् । एकसाताको भारत भ्रमण गरेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि भारतीय पक्ष सकारात्मक भएको आफूले पाएको बताएका हुन् ।
भारतको उत्तराखण्ड र उत्तरप्रदेशका मुख्यमन्त्रीसँग शिष्टाचार भेटवार्ताका क्रममा आफूहरू बीच प्रदेशको ऊर्जा, सडक पूर्वाधार, कृषि विकास, तथा लगानी सम्मेलनका बारेमा छलफल भएको बताए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटमा सीमा क्षेत्रमा लागुऔषधलगायतका अपराधिक क्रियाकलाप नियन्त्रण एवं रोकथामबारे कुरा भएको मुख्यमन्त्री शाहले जानकारी दिए ।
मुख्यमन्त्री शाहले भ्रमणका क्रममा पलियाकलाँ– गौरीफन्टा सडक र तिकुनिया–खक्रौला सडक स्तरोन्नति तथा दार्चुला, बैतडी र डडेलधुरास्थित महाकाली नदीमा पुल निर्माण, टनकपुर ब्यारेजको आवगामन सहज बनाउन र सुक्खा बन्दरगाहलगायतका विषयमा आफूले भारतीय समकक्षीसँग कुरा राख्दा उहाँहरू सकारात्मक रहेको आफूले पाएको बताए ।
यही वैशाख १६ गते भारत भ्रमणमा निस्केको मुख्यमन्त्री शाह नेतृत्वको टोली आज लखनऊबाट स्थलमार्ग हुँदै धनगढी (कैलाली) आइपुगेको हो ।