धनगढी । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ। मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिवार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीया मिना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको हाे।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि गरे। उनका अनुसार दमाईलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो। मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेका बेला उनी हतकडीसहित भागेकी थिइन्।
हतकडीसहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ। दमाईलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी विष्टले बताए।