काठमाडौं । पाकिस्तानले भारतसँगको व्यापार, हवाइ उठान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ । जम्मु–कश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले बुधबार चालेको कदमको प्रतिक्रिया स्वरुप पाकिस्तानले बिहीबार यस्तो निर्णय लिएको हो ।
पहलगाममा मंगलबार आतंकवादीहरूले २४ पर्यटकसहित २६ जनाको हत्या गरेका थिए । सो आक्रमण पाकिस्तानद्वारा संरक्षित आतंकवादीहरूबाट गराइएको भन्दै भारतले बुधबार पाकिस्तानसँगको सिन्धु जलसन्धि निलम्बन गर्ने निर्णय लिएको थियो ।
पाकिस्तानले भारतको सो निर्णय अस्वीकार गर्दै पानी रोक्ने वा मोड्ने प्रयासलाई युद्धको कार्य मानिने भन्दै पूर्ण शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी दिएको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान र यसका सशस्त्र सेनाहरू आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न पूर्ण रूपमा सक्षम र तयार छन् ।’
भारतीय कदमको जवाफमा पाकिस्तानले पनि सार्क भिसा छुट योजनाअन्तर्गत भारतीय नागरिकलाई जारी गरिएका सबै भिसा निलम्बन गरेको छ । इस्लामाबादमा भारतीय उच्चायोगमा कूटनीतिज्ञको संख्या घटाएर ३० पुर्याएको छ भने भारतीय रक्षा, नौसेना र हवाई सल्लाहकारलाई ३० अप्रिलअघि पाकिस्तान छोड्न आदेश दिएको छ ।
यस्तै, पाकिस्तानले सबै भारतीय स्वामित्व वा भारतीयद्वारा–संचालित एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द तथा भारतसँगको सबै व्यापार निलम्बन गरेको छ ।