धनगढी। हावा हुरीसँगै सुदूरपश्चिमका केही स्थानमा बर्षा भएकाे छ । यही क्रममा चट्याङ परी बझाङ र डाेटीमा दुई जनाको मृत्यु भएको छ।
बुधवार साँझ बझाङको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए। यता गए राति डाेटीको सायल गाउँपालिका–६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी अन्दाजी ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो।
चट्याङले अन्य ७ जना घाइते भएका छन्। चट्याङबाट लहरीका छोराछोरीहरू १० वर्षीया तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय अबि नागरी र ३ महिना शंकर नागरी घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
सो चट्याङबाट स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीया खुशी नागरी पनि घाइते भएका छन्।