अत्तरिया। कैलालीको अत्तरियास्थित दुर्गा मन्दिरमा एक पुरुषकाे शव भेटिएकाे छ । आज बुधवार बिहान अन्दाजी ३५–४० वर्षका पुरुषको टाउकोमा ढुङ्गाले प्रहार गरिएको र आँखा समेत फुटेको अवस्थामा शव भेटिएको हाे।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गङ्गाबहादुर थापाले टाउकोको बायाँ भागमा गहिरो चोट लागेको र रक्ताम्मे अवस्थामा ढुङ्गा नजिकै पुरुषको शव फेला परेको जानकारी दिए। प्रारम्भिक अनुसन्धानअनुसार मन्दिरभित्रै उक्त हत्या भएको हुनसक्ने अनुमान गरिएको छ। शव मन्दिरको दक्षिण प्राङ्गणमा फेला परेको भए पनि रगतका धारा मन्दिरभित्र र आसपासका क्षेत्रसम्म फैलिएका थिए।
मन्दिरका पुजारी टिकादत्त पनेरुले मन्दिरको ढोका बन्द गरेर राति घर फर्केका थिए । बिहान साढे ६ बजे पतञ्जली योग समितिका एक सदस्यले शवको बारेमा जानकारी गराएका थिए । स्थानीयवासीले घटनाका बारेमा प्रहरीले लापरबाही गरेको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्।
प्रहरीले शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल पठाएको छ । घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मृतक पुरुषको पहिचान नखुलेको समेत प्रहरीको भनाई छ ।