
धनगढी । अछामकाे ढकारी गाउँपालिकाकै–१ स्थित सुनघर सामुदायिक वनमा मृत अवस्थामा भेटिएका दुई किशोरीको शव पोस्टमार्टम कालागि नेपालगन्ज पठाइएकाे छ। शुक्रबार बाख्रा गोठालो गएका ढकारी गाउँपालिका–८ घोडासेनका सरस्वती र इशरा खड्का दुई किशोरीको शव शनिबार जंगलमा बिक्षिप्त अवस्थामा भेटिएकाे थियाे ।
घटनास्थलकोे मुचुल्का बनाएर शव पोस्टमार्टमका लागि नेपालगञ्ज लैजान लागेको अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। घटना शङ्कास्पद भएको र राम्ररी परीक्षणपछि आशङ्का नहोस् भनेर प्रहरीले शव नेपालगन्ज लैजान लागेको हो । घटनाका बारेमा अनुसन्धान भइरहेको तर अहिले नै यही हो भन्न नसकिने अछाम प्रहरी प्रमुखको भनाइ छ।
यस्तो छ घटना विवरण
शुक्रवार बिहान ढकारी गाउँपालिका–८ काँसेगडाबाट बाख्रा र गोरु लिएर मृतक सरस्वती र ईशरा सोही वडाको बेसीमा पर्ने रिमारवा गइन । उनीसँगै परिवारका अन्य सदस्य पनि रिमारवा गएका थिए । उतै गोठ छाना भएका उनीहरुले घरबाट लिएर गएका भाँडाकुँडा र अन्य सामान गोठ छानामा छोडेर बाख्रा लगेर गोठ छानादेखि दश मिनेटको पैदल दूरीमा रहेको छिन्ने ओडारतिर बाख्रा लगेर चराउन गएका थिए । साँझ बाख्रा फर्किएर गोठ छाना आउनै लाग्दा बाटोमा छिमेकीको गँहुबालीमा सरुखान लागे । मृतककै छिमेकीले बाख्रालाई बाटोतिर लगाइदिए । सरस्वतीका ७ र ईश्वरीका १५ बाख्रा गोठ छाना पुगे ।
मृतकको घरमा रहेका परिवारले बाख्राले सरु खाएको थाहा पाएका थिए । बाख्रा पुगे पनि दुवै जना साँझसम्म गोठ छाना नपुग्दा बाख्राले सरु खाएको भन्दै परिवारका सदस्य रिसाउने डरले घर नआएको बुझाइ थियो । सरस्वतीकी आमाले अबेर रातिसम्म गोठ छानाको आसपास खोजी गरिन । छोरी आउने आशामा अबेर रातिसम्म पर्खिन । राति अबेरसम्म नफर्किदा केटासँग भागेको हुन सक्ने आशङ्का गरिन । विवाह गरेर भागेर जान सक्ने सम्भावित ठाउँमा पनि खोजी गरिन । शनिवार बिहानदेखि हराएको कुरा गाउँ काँसेगडामा समेत हल्ला भयो । सबै जनाले विवाह गरेर भागेको हुनसक्ने अड्कल गरेका थिए ।
मृतक दुबै जनाका बुवा छिमेकीमुलुक भारतमा भएकाले सरस्वतीका ठुलाबुवा अवि खड्काले वडा कार्यालयमा बालविवाहको उजुरी दिन जाने सल्लाह गरिन । सोहीअनुसार खड्का उकालो लाग्दै वडा कार्यालय जान भन्दै जन्मदर्ताको फोटोकपी खोज्न विद्यालय विद्याप्रवधनी मावि पुगिन । शनिवार भएका कारण उनले जन्मदर्ताको कपी समेत पाएनन । आइतबार बाल विवाहको मुद्दा दिने गरेर खड्का काँसेगडा फर्किन ।
बेलुकी करिब ५ बजे मृतकको लाश भेटिएको स्थान छिन्ने ओडार हुँदै माछा मारेर फर्किएका ४–५ जनाको समूहले ईश्वराको लाश देख्यो । स्थानीय प्रेम खड्काले गाउँमा फोन गरेर लाश भेटिएको खबर गरिन । गाउँले गएर खोजतलास गर्दा १६ मिटरको दूरीमा सरस्वतीको समेत क्षतविक्षत भएको लाश भेटियो । स्थानीयले प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय कमलबजारको टोली बेलुकी करिब ६ बजे घटनास्थल पुग्यो । प्रहरी टोलीले घटनास्थल शील गरेर राख्यो ।
रातिको समयमा लाश उठाउन नसकिने भन्दै प्रहरीले घटनास्थललाई सुरक्षा दियो । आइतबार बिहान जम्बो कुकुरसहित प्रमुख जिल्ला अधिकारी, अछाम प्रहरी प्रमुख, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि समेत घटनास्थल पुगेका थिए ।
