धनगढी । नेपालको पश्चिमी भूभागमा सोमबार रातिदेखि बर्षा हुने भएको छ । यो प्रणाली मंगलबारसम्म रहने र चिसो बढाउने मौसमविदको भनाइ छ । सोमबार रातिदेखि हुने वर्षा पनि अघिल्लोपटकको जस्तै हल्का मात्र हुने पूर्वानुमान मौसमविदले गरेका छन् । मौसमविद डा. विनोद पोखरेलका अनुसार अन्य प्रदेशमा भने छिटपुट वर्षा हुने र बादल मात्र लाग्नेछ ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार र सोमबार कर्णाली र सुदूरपश्चिममा बादल लाग्ने तथा एक–दुई स्थानमा हल्का पानी पर्नसक्ने प्रक्षेपण गरेको छ । सोमबार दिउँसो कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा सोमबार दिउँसो हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ । सोमबार राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा हुने पूर्वानुमान छ ।