धनगढी । नेपालमा अपाङ्गता भएका नागरिकहरुको राष्ट्रिय सर्वेक्षण गर्ने तयारी भैइरहेको छ । पछिल्लो पटक राष्ट्रिय जनगणना २०७८ ले अपाङ्गता भएका नागरिकहरुको खण्डिकृत तथ्याङ्क ल्याउन नसकेको स्वीकार्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले सरोकारवालाको सल्लाह सुझावमा देशैभर पुनः गणना गर्न सर्वेक्षण गर्नलागेको हो ।
सर्वेक्षणको पूर्वसन्ध्यामा सोमबार सुदूरपश्चिमको धनगढीमा आयोजित सर्वेक्षणको आवश्यकता र यसको महत्व विषयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अधिकृत दिनानाथ लम्सालले राष्ट्रिय अपाङ्ग महासंघ लगायत सरोकारवाला संघसंस्थासँग जन गणनाअघि भएको सम्झौताअनुसार अपाङ्गता भएका व्यक्तिहरुको छुट्टै सर्वेक्षण गरिन लागेको बताए।
उनले सर्वेक्षणबाट खण्डिकृत तथ्याङ्क आउने र सो तथ्याङ्कले अपाङ्गता भएका व्यक्तिसँगै सरोकारवाला निकाय तथा सरकारलाई नीति नियम तथा योजना बनाउनमा सहयोगी हुने जानकारी दिए। राष्ट्रिय जनगणना २०७८ ले सबै प्रकारका अपाङ्गता भएका नगरिकहरुको तथ्याङ्क लिपीबद्ध गरेपनि उनीहरुको स्वास्थ्य, शिक्षा, पारिवारीक, आर्थिक, सामाजिक लगायतका विविध विधागत अवस्थको तथ्याङ्क आवश्यक देखिएकोले सरोकारवाला राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थासँगको सहकार्यमा राष्ट्रिय सर्बेक्षण गर्ने तयारी थालिएको र सर्वेक्षणमा छुटाउन नहुने विषयहरुबारे सल्लाह सुझाव लिन आफूहरु सुदूरपश्चिम पुगेको बताए ।
राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउदले कुन ब्यक्तिलाई कस्तो प्रकारको सहायक सामाग्री आवश्यक छ, सोबारेमा पनि खुलाउनुपर्ने, विधालय, स्वास्थ्य उपचार, सञ्चार, सार्वजनिक कार्यमा के कति पहुँचता छ, खुलाउनुपर्ने बताए । उनले अपाङ्गताको बारेमा ज्ञान भएको, बुझेको मान्छेलाई गणकमा खटाउनुपर्नेमा पनि जोड दिए ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोग, भौतिक पूर्वाधार विकास मन्त्रालय, कैलाली–कञ्चनपुरमा रहेका तथ्याङ्क कार्यालयका अधिकारीहरु, मानवअधिकारकर्मी, सञ्चारकर्मी र अपाङ्गता अभियाकर्मीहरुले विभिन्न सुझावहरु राख्नुभएको थियो ।