
धनगढी । राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश समितिले प्रदेशमा रहेका जिम्मेवार कर्मचारी तथा सराेकारवाला निकायका प्रतिनिधिहरुलाई अपाङ्गता अधिकार कानूनबारे प्रशिक्षण दिएको छ । बुधवार प्रदेश सरकारका बिषयगत मन्त्रालयका सचिब, सराेकारवाला निकायका प्रतिनिधिहरुलाई धनगढीमा जम्मा परेर अपाङ्गता अधिकारबारेका राष्ट्रिय अन्तराष्ट्रिय र प्रदेशमा निर्माण भएका ऐन कानूनका विषयमा जानकारी दिएकाे हाे ।
राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउदले अपाङ्गता भएका व्यक्तिहरुकाे अधिकार सम्बन्धि अन्तराष्ट्रिय महासंन्धी (सीआरपिडी) अपाङ्गता भएका व्यक्ति अधिकार सम्बन्धि ऐन २०७४ अपाङ्गता भएका व्यक्तिहरुकालागि भाैतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ अपाङगता व्यवस्थापन (रोकथाम, उपचार तथा पुर्नस्थापना) सम्बन्धि १० बर्षे कार्ययोजना २०७३- २०८२ लगाएत प्रदेश सरकाले बनाएका ऐन कानूनबारे सहजिकरण गरिएकाे जानकारी दिए ।
कार्यक्रममा अपाङ्गता अधिकारकर्मिहरुले धेरैजसाे अधिकार ऐन कानूनमा लेखिएकाे भएपनि राम्राेसँग कार्यान्वयन नहुँदा अपाङ्गता भएका व्यक्तिका लागि आकासकाे फल आँखा तरी मर भनेजस्ताे भएकाे दुखेसाे समेत गरेका थिए ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सामाजिक विकास मन्त्रालय, भूमी व्यबस्था कृषि तथा सहकारी, उधाेग पार्टन बन तथा बाताबरण मन्त्रालय, प्रदेश नीति तथा याेजना र लाेकसेवा आयाेगका सचिब तथा अधिकारीहरुले कानूनकाे कार्यान्वयन गर्न, गराउन लागिपरेकाे भन्दै विभिन्न जिज्ञासा र सुझाबहरु राखेका थिए ।
