सत्तारुढ एमालेको शक्तिप्रदर्शनले आज काठमाण्डाैं अस्तव्यस्त रहने

काठमाडौं । संघीय राजधानी काठमाडौँको तीन ठाउँमा आज एकै समय प्रदर्शन हुने भएको छ। सत्तारुढ नेकपा एमाले लगायत दुर्गा प्रसाई समर्थक र सहकारीपीडितकाे आन्दाेलन तथा शक्ति प्रदर्शनले काठमाण्डाैंकाे जनजीवन अस्तव्यस्त रहने भएकाे हाे ।

एमालेले र्‍याली गरेर काठमाडौँको दरबारमार्गमा प्रदर्शन गर्ने अनुमति प्रशासन कार्यालयबाट लिएको छ। एमालेले एक लाख हाराहारी मान्छे काठमाडौंमा उतार्ने तयारी गरेको छ। एमाले नेता विष्णु रिजालका अनुसार काठमाडौंका विभिन्न सम्पर्कविन्दुबाट ११ बजे बिहान सुरु हुने जुलुस दरबारमार्ग पुग्नेछ।

त्यसैगरी मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्षले पनि आज (शुक्रबार) प्रदर्शन गर्दैछ। प्रसाई अहिले साइबर अपराधको कसुरमा पक्राउ परी साइबर ब्युरोको हिरासतमा छन्। तर उनको पूर्व निर्धारित प्रदर्शन भने नरोकिने बताइएको छ। प्रसाईंका पक्षधरलाई प्रशासन कार्यालयले काठमाडौंको कोटेश्वरमा कार्यक्रमका लागि अनुमति दिएको छ।

माइतीघरमा सहकारी पीडितसहित अन्य प्रदर्शन हुन सक्ने प्रशासनले जनाएको छ। सहकारी पीडितले बचत फिर्ताको माग गर्दै माइतीघर मण्डल केन्द्रित प्रदर्शन गर्दै आएका छन्। काठमाडौँका तीन ठाउँमा प्रदर्शन हुने भएपछि सुरक्षा र जनजीवन सहज बनाउन योजना बनाइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.