डडेल्धुराकाे ‘कस्याडाँडा’ आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै

अमरगढी । डडेल्धुराको अमरगढी नगरपालिका–७ मा रहेको कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ।सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिने भएपछि आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो।

सूर्योदय र सूर्यास्तका साथै सदमुकाम अमरगढी नगरपालिका, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिकाका अधिकांश भू–भागको दृश्यावलोकन गर्न दैनिक सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन्। जिल्लाको सबैभन्दा अग्लो डाँडा कस्याडाँडा डडेल्धुरा–बैतडी राजमार्गको पश्चिम खण्ड अनारखाेलीसँगै जोडिएको र धार्मिक एवं ऐतिहासिक महत्व बोकेको छ।

तत्कालिन डोड्याली राजा नागी मल्लसहित लेगी समैजी, शिखर, शैलेश्वर महादेव, भूमिराज, उग्रतारा भगवती माताको धार्मिक क्षेत्रका रूपमा पनि कस्यालाई लिने गरिएको छ। यो डाँडा समुद्री सतहबाट ६ हजार पाँच सय फिट उचाइमा अवस्थित छ। पहिला सुनसानजस्तै रहेको यो ठाउँमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्न थालेको छ। अहिले दिनमा एक सयको हाराहारीमा आन्तरिक पर्यटक पुग्ने गरेको अटो–चालक धौलि दमाइँले बताइन्।

पछिल्लो समय स्थानीयसँगै अमरगढी नगरपालिकाकोे सहयोगमा भ्यूप्वाइन्ट, दृश्यावलोकन स्तम्भ, डाँडाको टुप्पोसम्म पुग्ने पैदल बाटो, बस्ने ठाउँलगायत पूर्वाधार निर्माण भएका छन्। कस्याडाँडामाथि भ्यूटावर निर्माण गरी आन्तरिक एवं बाह्य पर्यटक भित्रयाउन सके आर्थिक गतिविधि चलायमान हुने क्लबका अध्यक्ष दीपकराज भट्टराईले बताए। इतिहासका बारेमा अध्ययन र अनुसन्धान गरी तथ्य पत्ता लगाउन उनले स्थानीय सरकार र सरोकार भएका निकायलाई आग्रहसमेत गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.