धनगढी । स्थानीय तह उपनिर्वाचन २०८१ का लागि आज आइतबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरु भएकाे छ । स्थानीय तहमा रिक्त रहेका ४४ पदमा यही मङ्सिर १६ गते हुने निर्वाचनकालागि मनोनयन दर्ता हुन लागेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले सम्बन्धित पालिकाको केन्द्र र वडामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा आज आइतबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मनोनयन दर्ता हुने जानकारी दिए । ४४ पदका लागि आइतबार नै मनोनयन दर्ता हुनेछ ।
जसमध्ये पालिकाका प्रमुख र उपप्रमुख एक/एक, अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्षको ३४ पद रिक्त छन् । दुई वटा जिल्ला समन्वय समितिको प्रमुख पद पनि रिक्त छन् ।
आचारसंहिता लागु
निर्वाचन आयोगले उपनिर्वाचनका लागि मङ्सिर २ गते आइतबारदेखि आचारसंहिता लागु गरेको छ । आयोगले उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र तोकिएका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागु हुनेछ ।
आयोगका प्रवक्ता पोखरेलले आयोग पदाधिकारीको मङ्सिर १ गतेको बैठकबाट निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिताको सम्पूर्ण व्यवस्था लागु गर्ने निर्णय भएको बताए । आचारसंहिता उपनिर्वाचन हुने जिल्लाभित्र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार, संवैधानिक निकाय र सो निकायका पदाधिकारीलगायतलाई लागु हुनेछ ।