सुदूरपहाडका घुम्तीमा रुबी बनिन् पहिलाे महिला ‘ड्राइभर’
गोकर्ण दयाल
बैतडी। बैतडीकी रुबी चन्द २० वर्षको उमेरमै सार्वजनिक सवारी साधन चलाउँने जिल्लाकै साहसी महिला ‘ड्राइभर’ बनेकी छिन् । रुबीले सार्वजनिक सवारी हाँकेको देखेर सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत छक्क पर्ने गरेका छन् ।
पञ्चेश्वर गाउँपालिका–४, निङलाडकी रुबी पालिकादेखि प्रदेश राजधानी धनगढीसम्म सार्वजनिक यातायात चलाउँदै आएकी छन ।
रुबी वैधानिक हिसाबले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा पास गरेर सार्वजनिक यातायात चलाउने ‘ड्राइभर’ बनेकी हुन् । प्रवीणता प्रमाणपत्र तहको अध्ययन सकेर पञ्चेश्वरस्थित नवप्रभात संयुक्त क्याम्पसमा ब्यचुलर पहिलो वर्षमा अध्ययनरत रुबीले घरायसी जिम्मेवारी बहन गर्न ड्राइभर बनेको बताईन ।
रुबीले चलाउँदै आएको म १ ज ३३३ नम्बरको सार्वजनिक जिप पछिल्लो समय पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका हुँदै प्रदेश राजधानी कैलालीसम्म यात्रु बोकेर हिँड्ने गरेको छ । महिलाले जिप हाँकेको देख्दा सर्वसधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत सवारी चालक अनुमति पत्र हेरेपछि मात्रै पत्याउने गरेको रुबीले अनुभवन सुनाइन् ।
“टिकट काटेर गाडीमा बस्ने अधिकांश सर्वसाधारण ड्राइभर खोई ? भन्छन्,” अनुभव सुनाउँदै रुबीले भनिन, “मै हो नि ! ड्राइभरभन्दा आम मानिस पत्याउँदैनन् । बैतडीबाट प्रदेश राजधानी धनगढी जाँदा बाटोमा सवारी चेकजाँच गर्ने ट्राफिक प्रहरीसमेत छक्क पर्छन । सवारी चालक अनुमति पत्र ओर्काइफर्काइ हेर्छन् । विश्वास नलागेर होला, मेरो फोटोसमेत खिचेर राख्ने गरेका छन् ।”
रुबीका पाईला यसरी मोडिए ड्राइभरतिर
रुबी चन्द छ दिदीबहिनी मध्येकी माहिली हुन । स्वदेशमा रोजगारी नपाउँदा जेठी दिदी मञ्जु चन्द वैदेशिक रोजगारीका क्रममा साउदीमा छन । आमा यशोदा चन्द र बुवा डबलबहादुर चन्द गाउँमै किराना पसल चलाएर बसेको रुबीले बताइन् । रोजगारी खोज्न विदेश जानुभन्दा स्वदेशमै केही गरेर देखाउने अठोट लिएपछि बुवा आमाले पैसाको जोहो गरे बोलेरो जिप किनीदिएको उनले बताइन् ।
महाकाली यातायात समितिमा दर्ता यात्रु बोक्ने बोलेर जिपको अहिले रुबी चन्द लोकप्रिय ड्राइभर बनेकी छन् । छोरीले गाडी चलाउने सपना देखेपछि जिप किनीदिएको पिता बडलबहादुर चन्दले बताए ।
ड्राइभर बनेपछि पारिवारिक जिम्मेवारी र पढाइ खर्च राम्रोसँग चलिरहेको रुबीले बताइन । लाइसेन्स लिएर पाँच महिनादेखि नियमित गाडी चलाउँदा मासिक ३० हजारभन्दा बढि आम्दानी हुन थालेको उनकाे भनाई छ । गाेरखापत्र अनलाईनबाट