धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न कार्यालयका प्रमुखसहित कर्मचारीको सरुवा गरेको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिवस्तरीय निर्णयबाट कर्मचारीको सरुवा गरेको हो ।
नयाँ आर्थिक बर्षकाे पहिलाे त्रैमासिकभित्र गरिनुपर्ने कर्मचारी सरुवा बर्षकाे आधाअधिमा गरिएपछि कतिपय कर्मचारीहरु नै यसलाई व्याङ्यात्मकरुपमा उथलपुथल भनिरहेका छन् । यसरी उथलपुथलमा पर्नेमा इन्जिनियरङ सेवाका चार, वन सेवाका चार, स्वास्थ्य सेवाका एक, प्रशासन सेवातर्फ सातौँ र आठौँ तहका सात, प्रशासन सेवातर्फ चौथो, पाँचौँ र छैठौँ तहका २८ गरी ४४ जना कर्मचारीको सरुवा गरिएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डोटीका प्रमुख ग्रिष्म थापाको कैलाली डिभिजनमा सरुवा भएको छ । यस्तै, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दार्चुलाका प्रमुख डम्मरप्रसाद धितालको कैलाली डिभिजन, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कैलालीका प्रमुख अमरबहादुर पालको डडेल्धुरा, सोही कार्यालयको डडेल्धुरा प्रमुख रहेका रामरथ खरेलको दार्चुला सरुवा भएको छ ।
यस्तै वन सेवातर्फ डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलको पहलवान डिभिजनमा सरुवा भएको छ । धनगढी डिभिजनमा भने उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट कृष्णदत्त भट्ट आउने भएका छन् । डिभिजन वन कार्यालय पहलवानपुरका प्रमुख रामबिचारी ठाकुरको डिभिजन वन कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कडेलको डडेल्धुरा सरुवा भएको छ ।
यस्तै, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र सेती प्रादेशिक अस्पतालमा कार्यरत डा. निरज अर्यालको दोहोरो जिम्मेवारी हटाइएको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारीबाट डा. अर्याललाई हटाइएको हो ।