
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा सो पार्टीका नेता कार्यकर्ताले आइतबार पनि प्रदर्शन गर्ने भएका छन्। अर्कोतिर सहकारी पीडितहरु समेत पोखरामै आन्दोलित छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचनाच जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ।
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पछि कास्कीको सहिदचोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको छ। दुबै पक्षले नजिक नजिकै प्रदर्शन गर्ने भएपछि झडपको स्थितिलाई मध्यनजर गरेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रदर्शन हुने स्थानबाट कास्की जिल्ला अदालतको दूरी करिब १०० मिनेटमात्रै रहेको छ । सहकारी ठगीमा संलग्नताको आरोपमा प्रहरीले अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार पक्राउ गरेर पोखरा ल्याएको थियो ।
लामिछानेलाई आजै अदालतमा पेस गरिँदैछ । यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
