अमरगढी । डडेल्धुराकाे पाेखरामा १४ वर्षीया किशोरी आरती भट्टराईको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको पोष्टमार्टम रिपोर्टले घाँटी थिचेर आरतीको मृत्यु भएको देखाएको हो।
बालिका हत्या आरोपितले पनि आवेशमा आएर घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष यसअघि नै स्वीकार गरेको र रिपोर्टले पनि त्यही देखाएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। उनका अनुसार आरतीको श्वासप्रस्वास प्रणाली बन्द भएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ।
डिएसपी श्रेष्ठले मृतकको भजाइनल स्वाब, कपाल र रगत परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाण्डाैं पठाइएको छ। यही असोज २५ गते आरती अमरगढी नगरपालिका–७ पोखरामा मृत फेला परेकी थिइन्। उनको शव प्लास्टिकको बोरामा फेला परेको थियो।
भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका पुस्तक व्यवसायी ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक समेत गरिसकेको छ। उनको पोखरा बजारमा भण्डारी पुस्तक तथा स्टेशनरी पसल छ। आरती र भण्डारीबीच एक वर्षदेखि प्रेम सम्वन्ध रहेको बताइन्छ।