
धनगढी । सवारी साधन दुर्घटनामा परेर कैलालीमा पाँच जनाको मृत्यु भएको छ। दशैँको अवधिमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको हो। जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख गंगाबहादुर सारुका अनुसार घटस्थापनादेखि हालसम्म १३ वटा दुर्घटनामा भएका छन्।
जिल्लामा दशैँको समयमा भएका ती दुर्घटनामा परेर २५ जना घाइते भएका छन्। जसमा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परेकाहरुमा अधिकाँस मदिरा सेवन गरेर माेटरसाइकल चलाउने रहेको पाइएको उनकाे भनाई छ। उनले भने, ‘१७ गतेदखि हालसम्म मोटरसाइकल र स्कुटर बढी दुर्घटना भएको पाइए। युवाहरुले मापसे गरेर सवारी चलाउदा दुर्घटना भएके देखिन्छ।’
ट्राफिक प्रहरी नपुगेको तथा ग्रामिण क्षेत्रका सडकहरुमा भएका दुर्घटनाको विवरण प्राप्त नभएको ट्राफिक प्रहरीले बताएको छ। कैलालीमा दशैँको दिन सबैभन्दा बढी दुर्घटना भएका छन्। दशैँको दिन सबैभन्दा बढी मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका छन्।
दशैँको समयमा दुई जनाको सिट क्षमता रहेको मोटरसाइकल र स्कुटरमा क्षमताभन्दा बढी व्यक्ति राख्ने तथा मदिरा सेवन गरेर चलाउने गरेका कारण दुर्घटना बढी भएको जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख सारुले बताए।
