धनगढी । संघीय र प्रदेश सरकारमा सहभागी हुने वा नहुने विषयदेखि सुरु भएको नागरिक उन्मुक्ति पार्टीका शीर्ष तहको विवाद टुंगिएसँगै पार्टी फुटेको छ । नेता रेशमलाल चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीबीच सँगै मिलेर जाने भद्र सहमति भएको मसी नसुक्दै पार्टी फुटेको हो ।
केन्द्रमा दुई नेताबीच भद्र सहमति भए लगतै प्रदेशका २६ नेताहरूले पार्टी नै परित्याग गरेका छन् । केन्द्रीय उपाध्यक्ष विजय कुमार यादवको नेतृत्वमा २६ जना नेताहरूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनीहरू पार्टीको केन्द्रीय नेतृत्वले पार्टीभित्रको विवाद मिलाउन नसकेको, मूल मुद्दाबाट विमुख भएकोलगायत आरोप लगाउँदै पार्टीबाट अलग भएको जनाएका छन् ।
उपाध्यक्ष यादव र केन्द्रीय सदस्य मोहम्मद तनवीर अख्तर मिकरानीले हस्ताक्षर गरेको विज्ञप्तिमा पार्टीभित्र देखा पर्न थालेको सांगठनिक एवं सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भए पनि पार्टी बनाउने अठोटका साथ हिंडेका आफूहरूले पार्टीभित्रको गलत तत्वहरू नसुध्रिने छाँटकाँट देखेपछि यो अप्रिय निर्णय लिन बाध्य भएको उल्लेख गरेका छन् ।
राजेन्द्र महतोले भर्खरै गठन गरेको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित हुने उनीहरूले बताएका छन् । उपाध्यक्ष यादवले भने, ‘मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने दुई दर्जन बढी केन्द्रीय सदस्यहरू राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित हुँदैछौं ।’ पार्टीका अध्यक्ष तथा शीर्ष तहमा विभिन्न जिम्मेवारीमा रहेका केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको यादवको आरोप छ । ‘सैद्धान्तिक वैचारिक पथमा विचलन आइ पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भयो । नेतृत्वले पार्टीलाई प्राइभेट लिमिटेड आफ्नै विरासत सम्झिने गरे’, उनले भने ।
राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित हुनेहरूमा यादवसँगै केन्द्रीय सदस्यहरू विरेन्द्र महतो, सुनिता कुमारी महतो, दिनेश यादव, विष्णुनारायण यादव, रामअशिष चौधरी, सरिता महतो चौधरी, पप्पुकुमार महतो, अफताब हवारी, अरुणकुमारी चौधरी, निराजन चौधरी, उर्मिला राणा, पप्पु कुमार बैठा लगायत दुईदर्जन बढी केन्द्रीय नेताहरू छन् ।