Dashain Suvakamana

थारु महिलालाई घोंगी र झिँगामाछा खाेज्न भ्याइनभ्याई

Ajai

धनगढी । वर्षा कम भएसँगै कैलाली कञ्चनपुरका थारु महिलालाई घोंगी र झिँगामाछा बटुल्न भ्याइनभ्याइ भएको छ । वर्षाको पानीले बनेका तलाउ, नदी तथा डुबान भएका क्षेत्रमा माछा मार्न प्रयोग हुने हेल्का, डेलिया (माछा मार्ने साधन) लगायत साधन बोकेर प्रायजसो माछा तथा झिँगामाछाको खोजीमा जाने गर्छिन्।

‘घरमा खासै काम हुँदैन। फुर्सदमा समय कटाउनुभन्दा अलिकति माछा मरे पनि आफूलाई खान हुन्छ। बढी भए सुकाएर भोलिका लागि हुन्छ। त्योभन्दा बढी भए बिक्री गरेर राम्रो पैसा आउँछ,’ कैलालीको भजनी नगरपालिका-८ की सोमती चौधरीभन्छिन्, ‘हिउँदको समयमा अहिले सुकाएको माछा तरकारीका लागि राम्रो हुने हुँदा आजभोलिको दिनचर्या माछा मार्नमै बितेको छ।’

कतिपयले त्यसलाई वर्षातको समयमा आम्दानीको स्रोत नै बनाएका छन्। ‘घरमा चारजना छौं। दिनभर सबैको काम माछा, घोंगी खोज्ने हुन्छ,’ भजनीकै जितेन्द्र चौधरी भन्छन्, ‘केही भएन भने पनि दिनमा तीन–चार केजीसम्म संकलन भइहाल्छ। त्यो बिक्री गरेपछि रु एक हजारदेखि एक हजार पाँच सयसम्म आइहाल्छ।’

उनले झिँगामाछा र घोंगी बेचेर साउनमा लगभग रु ६५ हजार आम्दानी गरेको सुनाए। भजनीको अधिकांश क्षेत्र डुबानमा पर्छ। कान्द्रा, मोहना, पथरैया र काढा नदीमा आएको बाढी बस्तीमा पसेपछि डुबान हुन्छ। डुबान क्षेत्रमा नदीबाट माछा आउने र ती माछाका लागि जाल थाप्ने गरिएको रञ्जित चौधरी बताउँछन्।

बजारमा घोंगीको मूल्य प्रतिकेजी रु दुई सयसम्म छ। झिँगामाछा रु चारदेखि छ सयसम्म बिक्री हुन्छ। ठूलो माछा रु आठ/नौ सयसम्ममा खरिद गर्ने गरेको होटल व्यवसायी जीतबहादुर चौधरी बताउँछन्। उनका अनुसार एउटै महिलाले दिनमा १० केजीसम्म घोंगी ल्याउने गरेका छन्। तीन–चार केजीसम्म झिँगामाछा बिक्रीका लागि ल्याएर आउने गरेको उनको भनाइ छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.