याेजना फेरबदल गरेर शाह सरकार साेडारीकै पालाकाे बजेट ल्याउदै

धनगढी। प्रदेश सरकार संशोधित बजेट ल्याउने तयारीमा जुटेको छ । डेढ महिनादेखि बजेटविहीनको अवस्था अन्त्य गर्न असार १ गते सदनमा पेस भएको बजेटलाई नै आंशिक रूपमा संशोधन गरेर चालु आर्थिक वर्षका लागि बजेट ल्याउने तयारीमा प्रदेश सरकार जुटेको हो ।

सरकार मातहतका मन्त्रालय बजेटको सिलिङ बनाइरहेका छन् । प्रदेश आर्थिक मामिला मन्त्रालयले सरकारको प्राथमिकता अनुसार बजेट तयार पार्न सम्पूर्ण मन्त्रालयलाई परिपत्र गरेको थियो । बजेट पुनर्लेखन नगरी आंशिक संशोधन गरेर बजेट ल्याउने तयारी भइरहेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले बताए। उनले भने, “यो बजेटको पुनर्लेखन र साबिकमा पेस भएको विधेयकको प्रतिस्थापन होइन, भइरहेको कार्यक्रमको आंशिक संशोधन मात्रै हो ।”

बजेटसहित विनियोजन ऐन नहुँदा चालु र पुँजीगत खर्च ठप्प रहेका कारण भदौ महिनाको तेस्रो साताभित्र बजेट ल्याउने गरी प्रदेश सरकार तयारीमा जुटेको जनाइएको छ । यसअघि दीर्घवहादुर साेडारी सरकारका बेला सदनमा पेस भएको बजेटमा चालु खर्चसहित बहुवर्षीय आयोजना, क्रमागत आयोजना, गौरवका आयोजना, समपूरक, विशेष, समानीकरण सबै आयोजना हेर्दा लगभग २१ अर्ब बजेट परिमार्जन गर्न नमिल्ने र बाँकी रहेको आठ अर्ब बजेटका याेजना मात्रै परिमार्जन गर्न लागिएकाे हाे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.