
धनगढी । कैलाली जिल्लाको अधिकांश स्थानहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।निरन्तर भइरहेको वर्षाका कारण बाढी आइ नदीहरुमा पानीको बहाव सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
विभागका अनुसार कैलालीको धनगढी विमानस्थलमा पछिल्लो ६ घन्टामा ९०.२ मिलिमिटर वर्षा भएको छ। वर्षाका कारण खोलानालामा बाढी आएपछि केही क्षेत्रमा डुबान भएको छ । गौरीगंगा नगरपालिका–७, ९ स्थित महदेवा, कम्दा, भगवानपुर, शङ्करपुर र घोडाघोडी नगरपालिका–९ मा केही घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
भारी वर्षाका कारण मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ। साँझदेखि भने माैसममा केही सुधार हुने बताइएकाे छ ।
