धनगढी। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन् ।बर्खास्तमा परेकी थापाले आइतबारको प्रदेशसभा बैठकमा सहभागी भएकी थिइन्।
मुख्यमन्त्रीले प्रदेश सभा बैठकमा सहभागी भएका कारण बर्खास्त गरेको अनुमान छ । उसाे त उनी यसअघि अधिवेशन सुरु भएको दिन साउन ८ गते पनि प्रदेश सभाको बैठकमा सहभागी भएकी थिइन्।
नेपाली काँग्रेस र नेकपा (एमाले) सहितका दलले माग गरेपछि प्रदेश प्रमुख नजिर मियाले साउन ८ गतेदेखि प्रदेश सभाको विशेष अधिवेशन बोलाएका थिए । सरकारले सो बैठक अध्यादेशबाट बजेट ल्याउन रोक्नका लागि आव्हान गरिएको भन्दै प्रदेश सभामा सहभागी नहुने नीति लिएको छ ।
सङ्घीय सरकारको समीकरण फेरबदलसँगै प्रदेशमा एमालेले समर्थन फिर्ता लिएकोले सरकार अल्पमतमा छ । सो सरकारले साउन १८ गते भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
बर्खास्तमा परेकी थापा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सरकारमा थिइन् । सो पार्टीले नयाँ समीकरणलाई समर्थन गरेको छ । सोही कारण मन्त्री थापाले प्रदेश सभाको विशेष अधिवेशनमा भाग लिएको बताइन्छ ।