अन्याैलताकावीच सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन सुरुहुँदै

धनगढी । आज (मंगलबार) सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन सुरु हुँदैछ। नयाँ गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश सभाको विशेष अधिवेशन माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन बोलाउन पत्राचार गरेका थिए।

प्रदेश प्रमुखको आह्वानअनुसार मंगलबार दिउँसो २ बजे विशेष अधिवेशनको पहिलो बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ। सचिवालयका सचिव देवबहादुर बोगटीले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको बताए । सभामुख भीमबहादुर भण्डारीले सोमबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशन किन बोलाइएको हो ? भन्ने विषयमा छलफल भएको थियो।

प्रदेश प्रमुखको कार्यालयले पठाएको पत्रमा विशेष अधिवेशन बोलाइनुको कारण र उक्त अधिवेशनमा गर्ने गतिविधिबारे उल्लेख नगरिएको भन्दै एकपटक सोध्ने निर्णय भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा एकीकृत समाजवादी भने सहभागी थिएन।

संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस–एमालेको गठबन्धन बनेपछि सुदूरपश्चिममा असार २० गते एमाले मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारबाट बाहिरिएको थियो। एमाले बाहिरिएसँगै अल्पमतमा परेका सोडारीले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेश सभामा गएन र  बजेट शून्यतामा गएको छ।

सरकारले असार २९ गते प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो। तर प्रदेश प्रमुखले पाँच दिनपछि साउन ३ गते अधिवेशन आह्वान सम्बन्धी सिफारिस कार्यान्वन गरेका थिए भने भोलिपल्ट नै विशेष अधिवेशन आह्वान गरेका थिए। प्रदेश प्रमुखले चालेको यो कदमले अध्यायदेशबाट बजेट ल्याउने मुख्यमन्त्री सोडारीको तयारीमा ब्रेक लागेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.