त्रिशुलीमा बेपत्ता बसका पाँचजनाको शव भेटियो

चितवन। तीन दिनअघि गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार  सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । आज भेटिएका मध्ये  दुई शवकाे शनाखत हुन बाँकी छ ।

गोलाघाट स्थित नारायणी नदी किनारमा पुरुषको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए । सशस्त्र प्रहरी गण नम्बर–१७ बाट खटिएको इन्स्पेक्टर मनोज गुरुङ नेतृत्वको टिमले शव निकालेर स्थानीय प्रहरीलाई बुझाएको छ । यस्तै पूर्वी नवलपरासीका गैँडाकोट गरपालिका–७ स्थित गैरीमा पनि एकजना पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।  गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.