धनगढी। सुदूरपश्चिम प्रदेशमा यस वर्ष मनसुनजन्य विपत्का घटनाबाट दुई लाख ३३ हजार १९० जनसङ्ख्या प्रभावित हुन सक्ने आकलन गरिएको छ । बाढी, पहिरो जस्ता मनसुनजन्य विपत्का घटनाबाट ५३ हजार ३६२ घरधुरीका मानिस प्रभावित हुन सक्ने आकलन गरिएको हो ।
यसमा बाढी तथा डुबानबाट प्रभावित हुनेको सङ्ख्या बढी हुन सक्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार बाढी तथा डुबानबाट सबैभन्दा बढी कञ्चनपुरमा ९६ हजार १५२ जना प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ ।
यसै गरी कैलालीमा ८२ हजार ६५ जना प्रभावित हुने अनुमान रहेको छ । सात दिनअगाडि मात्रै आएको बाढीले कैलाली, कञ्चनपुरका धेरै जसो क्षेत्र डुबानमा पारेको थियो । बाढीमा डुबेर कञ्चनपुरमा पाँच जनाले ज्यान गुमाए भने कैलालीका एक जना अझै बेपत्ता छन् ।
बाढीपहिरोबाट डोटीमा १३ हजार ७७२, बाजुरामा १० हजार ७८९, डडेलधुरामा आठ हजार ८८१, बैतडीमा आठ हजार ६४६ जना प्रभावित हुने प्रक्षेपण गरिएको छ । त्यसै गरी अछाममा चार हजार ५७८, बझाङमा चार हजार ५३५ र दार्चुलामा तीन हजार ७७२ जना प्रभावित हुने अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशभरि हरेक बर्खाको समयमा बाढी र डुबानका समस्या हुने गरेको छ । महाकाली, कर्णाली, सेती र तिनका सहायक नदीहरूको बाढीले डुबान हुने गरेको छ । तराईमा बाढीको असर बढी रहे पनि पहाडी जिल्लामा नदी किनार र होचा भूभागमा रहेका बस्ती पनि बाढी र डुबानका जोखिममा छन् ।
विगत १० वर्षमा सुदूरपश्चिममा बाढी र डुबानका १६१ घटना भएका छन् । ती घटनामा ६२ जनाको मृत्यु भएको थियो भने ४९ जना बेपत्ता भए र ३० जना घाइते भएका छन् ।