
धनगढी । अविरल वर्षाका कारण सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवार घर छाेडेर सुरक्षित स्थानतिर भागेका छन् ।
सिगास गाउँपालिका–५ ढुङ्गाडका उनीहरुलाई स्थानीय जनप्रतिनिधिको सहयोगमा साेही ठाउँकाे शारदा माविमा बसालिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । नदीमा बाढीको सम्भावना बढेसँगै उनीहरू पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका हुन् ।
उता महाकाली नदीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि नै बनवसा शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ । सुदूरपश्चिमका धेरै स्थानमा अहिले पनि वर्षा भइरहेको छ। वर्षाका कारण बाढी र पहिरोले यहाँका सडक अवरुद्ध हुन पुगेको छ भने कतै बाढीका कारण स्थानीय जोखिममा परेका छन्।
लगातारको बर्षाले पहिरो खसेपछि बैतडीको सतबाँझ–श्रीभावर सडक अवरुद्ध भएको छभने बैतडीका तीन घरमा क्षति भएको छ। उता दार्चुलामा बाढीले वस्ती जोखिममा पारेपछि ९२ जनाले आफ्नो घर छाडेका छन्। जिल्लाको मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवार विस्थापित भएका हुन्।
मनसुन न्यून चापीय रेखा केहीदिन नेपालको दक्षिणी भूभागको आसपास रहने भएकोले २३ गते आइतबारसम्म वर्षा हुने अनुमान जल तथा मौसमविज्ञान महाशाखाले गरेको छ। त्यसैले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्ला डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडी उच्च जोखिममा रहेकाले अझ बढी सतर्कता अपनाउनुपर्ने बताइएकाे छ।
